काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा विद्यार्थी संगठनको आन्दोलनले असुरक्षा बढेपछि प्रशासनिक परिसरमा प्रहरी तैनाथ गरिएको छ।
उपकुलपति दीपक अर्यालसहित पदाधिकारीहरूले तोडफोड र कार्य बाधा भएको भन्दै सरकारसँग सुरक्षा माग गरेपछि प्रहरी परिचालन गरिएको हो। सोमबार (साउन २६) अखिल क्रान्तिकारी निकट विद्यार्थीहरूले रजिस्ट्रार र रेक्टरको कार्यालयमा तोडफोड गरेका थिए। घटनाका क्रममा प्रहरी र विद्यार्थीबीच झडप हुँदा केही विद्यार्थी घाइते भएका थिए।
२१ दिनदेखि उपकुलपति कार्यालयबाहिर केही विद्यार्थी अनशनमा बसेका थिए। कार्यालय परिसरमा असुरक्षा बढेपछि उपकुलपति अर्यालले नियमित कामसमेत गर्न सकेका थिएनन्।
विवादको जड नौ महिना अघिदेखिको हो, जब त्रिविले सामाजिक कार्य, अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व तथा शान्ति, र लैंगिकता अध्ययन कार्यक्रम केन्द्रीय विभागमा गाभेको थियो। त्यसपछि विद्यार्थीहरूले कार्यक्रमको शुल्क घटाउन माग गर्दै आन्दोलन थालेका हुन्।
उपकुलपति अर्यालले सरकारले विश्वविद्यालयलाई सुरक्षा दिएको पुष्टि गर्दै भने, “अझै स्थिति पूर्ण रूपमा सहज त छैन, तर हामीले विद्यार्थीहरूलाई शुल्क घटाउने सन्दर्भमा आफ्नो अन्तिम प्रस्ताव दिइसकेका छौं। संवाद सकारात्मक दिशामा अघि बढिरहेको छ।”
त्रिवि स्रोतका अनुसार, हाल विभिन्न विभाग प्रमुख, डीन र कन्ट्रोलर पद रिक्त हुने अवस्थामा छन्। नयाँ भर्ना प्रक्रिया सुरु हुन लागेको बेला ‘पदको लबिङ’ गर्नकै लागि आन्दोलन र गुन्डागर्दी शैली अपनाइएको आरोप पनि उठेको छ।