काठमाडौं — दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी तथा पूर्व प्रथम महिला किम क्योन हीलाई घूस, सेयर मूल्य हेरफेरलगायतका आरोपमा प्रहरीले पक्राउ गरेको छ।
मंगलबार सिओलमा भएको चार घण्टे अदालत सुनुवाइमा किमले आफूमाथि लागेको सबै आरोप अस्वीकार गरेकी थिइन्। तर, प्रमाण नष्ट गर्ने सम्भावना रहेको भन्दै अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो।
दक्षिण कोरियामा पूर्व राष्ट्रपतिहरू जेल जाने परम्परा लामो भए पनि, पहिलोपटक कुनै राष्ट्रपतिको पत्नीसमेत कारागार पुगेकी छन्। यसअघि युन सुक योललाई गत जनवरीमा ‘असफल मार्शलल प्रयास’ र त्यसबाट उत्पन्न राजनीतिक अराजकतासम्बन्धी आरोपमा पक्राउ गरिएको थियो।
५२ वर्षीया किममाथि बीएमडब्ल्यूको दक्षिण कोरियाली वितरक कम्पनी ‘डोइच मोटर्स’को सेयर मूल्य हेरफेर गरेर ८० करोड वोन (झण्डै ५ लाख ७८ हजार अमेरिकी डलर) नाफा कमाएको आरोप लागेको छ।
त्यस्तै, सन् २०२२ को उपनिर्वाचन र गत वर्षको आम निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियामा हस्तक्षेप गरेको आरोप पनि किममाथि लागेको छ।
मंगलबारको सुनुवाइमा उनी कालो कोट र स्कर्टमा गम्भीर मुद्रामा अदालतमा उपस्थित भएकी थिइन्।