रौतहट – पर्साको वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।

२०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार  कारागारमा सजाय काटिरहेका वीरगञ्ज महानगरपालिका–२५ खाल्वा टोलाका राहुल साह तुराहाको मङ्गलवार नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कारागार प्रशासनका अनुसार, मङ्गलवार बिहान कारागारमा व्यायाम गर्ने क्रममा राहुलको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल नारायणी अस्पताल ल्याइएको थियो ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार, तुहारालाई मंगलबार बिहान ८ः५० बजे अस्पताल भर्ना गरिएको थियो र उपचारको क्रममा बिहान १०ः३० बजे  मृत्यु भएको हो ।

नारायणी अस्पताल प्रशासनले भने राहुललाई सम्भव भ्याएसम्मको उपचार प्रदान गरिएको र तत्कालै थप उपचारका लागि रेफर गरिएको दाबी गरेको छ ।

तर मृतकका आफन्तले अस्पतालको लापरवाही र सही समयमा उचित उपचार नपाएका कारण राहुलको ज्यान गएको आरोप लगाएको छ ।

अस्पताल प्रशासन विरुद्ध मृतकका आफन्तले नारायणी अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । यस विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्तलाई पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले बताए ।

हाल अवस्था सामान्य बनेको उनको भनाइ छ । मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।