ड्यालस (अमेरिका) – शनिबार बिहान टेक्ससको ड्यालसमा भुटानबाट पुनर्स्थापित एक परिवारका तीन सदस्यहरुको गोलीकाण्डमा मृत्यु भएको छ ।


२००८/०९ मा शरणार्थी पुनर्स्थापना कार्यक्रम अन्तरगत ड्यालस आएका ५३ वर्षीय ललित प्रधान, उनकी ३७ वर्षीया पत्नी रजनी श्रेष्ठ प्रधान र तीन वर्षिय छोरा प्रनिश प्रधानको निधन भएको हो । स्रोतका अनुसार ललितले पत्नी र छोरालाई गोली हानेर हत्या गरेपछि आफैँलाई पनि गोली हानेर आत्महत्या गरेका हुन् ।


शनिबार बिहान २ः१० मा घटना भएको जानकारी ड्यालस पुलिस डिपार्टमेन्टलाई भएको थियो । प्रहरी घटनास्थलमा पुग्दा रजनी र प्रनिशको गोलीका कारण निधन भैसकेको थियो भने घाइते अवस्थामा रहेका ललितलाई तत्काल अस्पताल लगेपनि उपचारको क्रममा निधन भएको थियो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

ललित लामो समय नेपालको विभिन्न भुटानी शरणार्थी शिविरमा बसेर डेढ दशक अघि आइओएम र अमेरिकी सरकारको कार्यक्रम अन्तर्गत अमेरिका आएका हुन् । 


स्रोतले दिएको जानकारी अनुसार उनी अमेरिका आउनु अघिसम्म मोरङ्गको पथरी शिविरमा बस्दै आएका थिए ।


प्रधानले शनिबार मात्र फेसबुकमा लामो पत्र लेख्दै मेडिकेट लगायतका सुविधाहरू नहुँदा समस्या परेकाे दुःखेसो गरेका थिए ।


नाम सार्वजनिक गर्न नचाहने भुटानी समुदायका एक अगुवाले दिएको जानकारी अनुसार प्रधान लामो समयदेखि डिप्रेसनमा थिए । रजनी उनको दोस्रो पत्नी भएको र उनको माइती काठमाडौंमा रहेकोले माइती पक्षबाट शव पठाइदिन माग भैरहेको समेत स्रोतले जानकारी दियो ।