काठमाडौं –  अफ्रिकी देश घानामा बुधबार भएको हेलिकप्टर दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मदसहित आठ जनाको मृत्यु भएको छ। घाना सरकारले दुर्घटनालाई "राष्ट्रिय त्रासदी" भनेको छ।


दुर्घटनामा घानाका कार्यवाहक उप-राष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मोहम्मद मुनिरु लिमुना, राष्ट्रिय प्रजातान्त्रिक कांग्रेसका उपाध्यक्ष शमूएल सारपोङ र पूर्व संसदीय उम्मेदवार शमूएल अबोआगेको पनि मृत्यु भएको थियो।


हेलिकप्टरमा जम्मा पाँच यात्रु र तीन चालक दलका सदस्य थिए। घानाको सेनाले बताएअनुसार हेलिकप्टरले बिहान ९:१२ बजे राजधानी आक्राबाट उडान भरेको थियो र सुन खानी भएको शहर ओबुआसीतर्फ जाँदै थियो, जहाँ एक राष्ट्रिय कार्यक्रम आयोजना हुने तय भएको थियो। यसै क्रममा अचानक सम्पर्क विच्छेद भयो।


राष्ट्रपति जोन महामाका प्रमुख कर्मचारी जुलियस डेब्राले पत्रकार सम्मेलनमा भने, 'राष्ट्रपति र सरकार यस दुखद दुर्घटनामा ज्यान गुमाउने हाम्रा सहकर्मीहरूको परिवारप्रति समवेदना व्यक्त गर्दछन्। अर्को सूचना नभएसम्म देशभर झण्डा आधा झुकाइनेछ।'


घानाको सेनाका अनुसार बुधबार बिहान राजधानी आक्राबाट उडान भरेपछि हेलिकप्टर राडारबाट गायब भएको थियो। दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन।

सत्तारूढ राष्ट्रिय प्रजातान्त्रिक कांग्रेस पार्टीका उपाध्यक्ष र राष्ट्रिय सुरक्षा सल्लाहकार पनि हेलिकप्टरमा सवार थिए। घाना सरकारले शोक व्यक्त गर्दै यो दुर्घटना देशका लागि ठूलो धक्का भएको बताएको छ।


दुर्घटनाग्रस्त हेलिकप्टर जेड-९ उपयोगिता हेलिकप्टर थियो, जुन सामान्यतया यातायात र चिकित्सा सुविधाहरूको लागि प्रयोग गरिन्छ। दुर्घटनाको अनुसन्धान सुरु गरिएको छ र सरकारले पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ।