म्यानमार— म्यानमारका कार्यवाहक राष्ट्रपति यु म्यिन्ट स्वेको निधन भएकोे छ । सैन्य अस्पतालको आइसीयूमा उपचाररत उनको आज बिहान निधन भएको बताइएको छ । 

हिजो राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा परिषद्का प्रवक्ता मेजर जनरल जअ मिन्टुनले यु म्यिन्ट स्वेको मृत्यु भएको भन्ने समाचारलाई असत्य भनेक थिए ।

राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्काअनुसार सन् २०२३ को प्रारम्भदेखि नै स्वेलाई हिँडडुलमा समस्या, खानपानमा कठिनाई र अन्य न्युरोलोजिकल समस्या देखिन थालेका थिए । विस्तृत चिकित्सकीय परीक्षणबाट उनलाई पार्किन्सनलगायत स्नायु रोगहरू भएको पुष्टि भएको थियो ।

त्यसपछि २०२४ को अप्रिलमा सिंगापुरमा, सोही वर्षको मेदेखि जुनसम्म सैनिक अस्पतालमा र गत वर्ष जुलाइदेखि घरमा उपचार गरिएको थियो । यो वर्षको जुलाई २४ मा अवस्था गम्भीर भएपछि अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो ।

यु म्यिन्ट स्वे म्यानमारका पूर्व उपराष्ट्रपति तथा सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कू पछि कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त भएका हुन् । उनी म्यानमार सेनाका निकट अहिलेको सैन्य शासित प्रशासनका प्रमुख व्यक्ति हुन् ।