रूसको कालो सागर किनारस्थित प्रसिद्ध पर्यटकीय सहर सोची नजिकै रहेको तेल भण्डारण केन्द्रमा ठूलो आगलागी भएको छ । रुसी अधिकारीहरूले उक्त आगलागी युक्रेन ड्रोन आक्रमणका कारण भएको बताएका छन् ।
क्रास्नोदर क्षेत्रका गभर्नर भेनीयामिन कोंद्रात्येभले टेलिग्राममार्फत जानकारी दिँदै ड्रोनको भग्नावशेषले इन्धन ट्यांकीमा खस्दा आगलागी भएको बताए । आगो निभाउन १२७ जना अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । आगलागीको असरस्वरूप सोचीको विमानस्थलबाट उडानहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।
त्यसैबीच युक्रेनको दक्षिणी सहर मिकोलेभमा रूसी क्षेप्यास्त्र आक्रमण हुँदा सर्वसाधारणका घरहरू र पूर्वाधारहरू ध्वस्त भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार उक्त आक्रमणमा कम्तीमा ७ जना सर्वसाधारण घाइते भएका छन् । युक्रेनको आपतकालीन सेवा विभागले तीन जना घाइतेहरू अस्पतालमा उपचाररत रहेको जनाएको छ ।
रूसी अधिकारीहरूका अनुसार सोचीमा भएको ड्रोन आक्रमण मात्र नभइ युक्रेनले पछिल्ला दिनहरूमा रियाजान, पेन्जा र भोरोनेजजस्ता दक्षिणी रूसी सहरहरूमा समेत आक्रमण गरेका छन् । भोरोनेजका गभर्नरका अनुसार एक ड्रोन आक्रमणमा चार जना घाइते भएका छन् ।