अमेरिका — डेल्टा एयरलाइन्सको फ्लाइट २८०९ शनिबार राति सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै  पाइलट पक्राउ परेका छन्।

स्थानीय समयअनुसार राति ९:३५ बजे मिनियापोलिसबाट आएको उक्त विमान भित्र छिरेका सुरक्षाकर्मीहरूले ३४ वर्षीय सह–पाइलट रस्टम भागवरलाई ककपिटमै हतकडी लगाए। विभिन्न संघीय तथा स्थानीय निकायका १० जना सुरक्षाकर्मीको टोलीले उनलाई यात्रुहरूको सामुन्ने विमानबाट बाहिर ल्याएको थियो।

क्यालिफोर्नियाको कन्ट्रा कोस्टा काउन्टीले भागवरविरुद्ध २४ वटा गम्भीर आपराधिक मुद्दा दर्ता गरेको जनाएको छ। तीमध्ये अधिकांश बाल यौन शोषण, जबर्जस्ती करणी र दुर्व्यवहारसँग सम्बन्धित छन्। विशेषगरी ती अभियोगहरू १० वर्षभन्दा कम उमेरकी बालिकासँग यौन सम्पर्क राखेको आरोपमा आधारित छन्।

यसै प्रकरणमा संलग्न ठहरिएकी ४५ वर्षीया जेनिफर पावेल नामकी एक महिला पनि सोही दिन पक्राउ परेकी छन्। उनीमाथि पनि बालिकामाथि यौन दुर्व्यवहारसम्बन्धी समान प्रकृतिका २४ वटा अभियोग लगाइएको द न्यूयोर्क टाइम्स ले जनाएको छ।

पक्राउ परेपछि दुवै जनालाई क्यालिफोर्नियास्थित मार्टिनेज डिटेन्सन सेन्टरमा राखिएको छ। अदालतले पाइलट भागवरको धरौटी रकम १ करोड ५० लाख अमेरिकी डलर तोकेको छ। अभियोग प्रमाणित भएमा उनीहरूलाई कम्तीमा १५ वर्षदेखि आजीवन कैदसम्मको सजाय हुन सक्ने सम्भावना छ।

कन्ट्रा कोस्टा काउन्टी शेरिफ विभागका अनुसार भागवरमाथि गत अप्रिल महिनादेखि अनुसन्धान सुरु भएको थियो। पर्याप्त प्रमाण जुटेपछि जिल्ला सरकारी वकिलको कार्यालय र होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन (HSI) को सहकार्यमा विमानमै समातिएको हो।

डेल्टा एयरलाइन्सले पाइलटमाथिको गम्भीर आरोपप्रति स्तब्धता व्यक्त गर्दै तत्काल निलम्बन गरिएको जनाएको छ। “हामी यस्ता गम्भीर अभियोग सुनेर गहिरो चिन्तित र स्तब्ध छौं। डेल्टाले अवैध गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्छ,” एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।