सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका स्थित जनज्योति बहुमुखी क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति समिर सिंह ठगी आरोपमा प्रहरी नियन्त्रणमा परेका छन्। अमेरिका पठाइदिने प्रलोभन देखाउँदै सिंहले १ करोड २० लाख रुपैयाँ ठगी गरेको प्रहरीले पत्ता लगाएको छ।

प्रहरी अनुसन्धानका अनुसार सिंहले काभ्रेपलाञ्चोक, बनेपा निवासी विषाल घिमिरेसँग मिलेर विद्यार्थी भिसा प्रक्रिया सजिलो बनाइदिने नाममा ठगी धन्दा चलाएका थिए। उनले विभिन्न विद्यार्थीलाई बैंकमा पर्याप्त ब्यालेन्स देखाउनुपर्ने भन्दै ठूलो रकम असुली गरेको प्रमाण खुलेको हो।

जनज्योति क्याम्पसमा अनेरास्ववियुको तर्फबाट सभापति बनेका सिंहको यो कर्तुतले सम्पूर्ण विद्यार्थी समुदाय स्तब्ध बनेका छन्। विद्यार्थीको आवाज बन्नुपर्ने पदमा रहँदै सिंहले उल्टै विद्यार्थीकै सपना बेच्ने कार्य गरेको भन्दै पीडितहरू आक्रोशित छन्।

अझै अनुसन्धानबाट खुल्न आएको छ कि स्ववियु निर्वाचनको केही समयअघि सिंह नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघमा संलग्न थिए। तर, पदको लालचमा उनले अनेरास्ववियुको टिकट लिन सौदा गरेर उम्मेदवार बनेका थिए। सभापति भएपछि उनले पाएको अधिकार र विश्वासको दुरुपयोग गर्दै ठगी धन्दा चलाएका थिए।

हाल सिंहलाई काठमाडौंस्थित प्रहरी हिरासतमा राखिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको र विषाल घिमिरेको संलग्नतामा समेत कारबाही हुने बताएको छ। “विद्यार्थीका नाममा ठगी गर्ने जसरी पनि कानुनी कारबाही हुन्छ,” जिल्ला प्रहरी प्रवक्ताले बताएका छन्।