अमेरिका — अमेरिकाको कोलोराडो राज्यस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलबाट मियामी उड्न लागेको अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ जहाज शनिबार ठूलो दुर्घटनाबाट जोगिएको छ।
स्थानीय समयअनुसार दिउँसो २:४५ बजे जहाज धावनमार्गमा तीव्र गतिमा हुइँकिन थालेको केही सेकेन्डमै ठूलो आवाज आएको र धुवाँ निस्किएको सीबीएस न्यूजले जनाएको छ। त्यसपछि पाइलटले तुरुन्तै विमान रोक्ने निर्णय गरेका थिए।
उड्नै लाग्दा ल्याण्डिङ गियर (अवतरण यन्त्र) मा समस्या देखिएपछि १७३ यात्रु र ६ जना चालक दललाई आपतकालीन ढोकाबाट सुरक्षितरूपमा बाहिर निकालिएको थियो। यात्रुहरूलाई स्लाइडरको सहायताले बाहिर निकालिएको हो।
एकजना यात्रु मार्क त्सुर्किसले भनेका छन्, “हामी उड्नै लागेका थियौं, केही सेकेन्डमै ठूलो आवाज आयो र जहाजको पछाडिपट्टीबाट धुवाँ र आगो देखियो। त्यसपछि पाइलटले विमान रोक्नुभयो।”
अमेरिकी संघीय उड्डयन एजेन्सीले ल्याण्डिङ गियरमा समस्या आएको पुष्टि गरेको छ भने एयरलाइन्सले टायरमा मर्मतसम्बन्धी खराबी देखिएको बताएको छ। डेनभर फायर डिपार्टमेन्टले जहाजमा लागेको आगो नियन्त्रणमा लिएको हो।
खराबी आएको जहाजलाई सेवा बाहिर राखिएको छ भने सबै यात्रुलाई अर्को जहाजबाट मियामी पठाइएको छ।
यस घटनाको कारण शनिबार साँझसम्म डेनभर विमानस्थलमा ३०६ वटा उडान ढिलाइ भएका थिए। दिउँसो २ देखि ३ बजेसम्म सबै आगमन उडानहरू रोकिएको थियो। अहिले विमानस्थलको नियमित सेवा पुनः सुरु भइसकेको छ।
उक्त एयरलाइन्सको अर्को बोइङ विमान यसअघि मार्च महिनामा पनि प्राविधिक समस्या देखिएपछि डेनभरमै आकस्मिक अवतरण गरिएको थियो।
त्यसैगरी, भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको एयर इन्डियाको जहाज पनि बोइङ कम्पनीकै भएको थियो।