काठमाडौँ — चर्चित टेक स्टार्टअप एस्ट्रोनमरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी बायरन र मानव संसाधन (एचआर) प्रमुख क्रिस्टिन क्याबोटले राजीनामा दिएका छन्। हालै अमेरिका बोस्टनमा आयोजित कोल्डप्लेको कन्सर्टमा ‘किस क्याम’मा देखिएपछि ती दुवै जनामाथि विवाद चुलिएको थियो।

बायरनले राजीनामा दिएको केही दिनमै कम्पनीकी एचआर प्रमुख क्याबोटले पनि पद त्याग गरेकी हुन्। एस्ट्रोनमरले एक विज्ञप्ति जारी गर्दै भनिएको छ, "क्रिस्टिन क्याबोट अब एस्ट्रोनमरमा छैनिन्। उनले राजीनामा दिएकी छिन्।"

घटना कोल्डप्लेको कन्सर्टका क्रममा भएको हो। कार्यक्रममा ‘किस क्याम’ले बायरन र क्याबोटलाई अँगालो हालिरहेको अवस्थामा देखाएपछि उनीहरू विवादमा तानिए। ठूला स्क्रिनमा आफ्नो अनुहार देखिनेबित्तिकै उनीहरू लजाउँदै लुकेका थिए। यो दृश्य देखेपछि गायक क्रिस मार्टिनले ठट्टा गर्दै भनेका थिए, "या त उनीहरू प्रेम सम्बन्धमा छन्, या त धेरै लजालु छन्।"

कन्सर्टमा उपस्थित एक दर्शकले खिचेको उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि उनीहरूको व्यक्तिगत र व्यावसायिक सम्बन्धबारे चासो बढ्यो। दुवैजना एउटै कम्पनीमा उच्च पदस्थ रहेका कारण एस्ट्रोनमरको कार्यसंस्कृति र नेतृत्वमा पनि प्रश्न उठेको थियो।

भिडिओ सार्वजनिक भएपछि कम्पनीले सीईओ बायरनलाई बिदामा पठाएको थियो। त्यसको केही दिनमै उनले पदबाट राजीनामा दिएका थिए। बायरन कम्पनीको बोर्ड सदस्य समेत थिए।