काठमाडौं – थाइल्यान्ड र कम्बोडियाबीच जारी सैन्य झडप शुक्रबार दोस्रो दिनमा प्रवेश गरेको छ। बिहीबारदेखि सुरु भएको भिडन्तमा अहिलेसम्म कम्तीमा १६ जनाको ज्यान गएको छ भने दशौं हजार नागरिक विस्थापित भएको बीबीसी ले जनाएको छ।

विवादित सीमा क्षेत्रमा बिहीबार भीषण लडाइँ सुरु भएको थियो, जसले दुई दक्षिणपूर्वी एसियाली छिमेकी राष्ट्रबीच एक शताब्दीयदेखि रहँदै आएको सीमा विवादलाई थप चर्काएको छ।

थाइल्यान्डको उबोन रत्चाथानी र सुरिन प्रान्तमा भएका झडपमा दर्जनौं मानिस घाइते भएका छन्। एक लाखभन्दा बढी सर्वसाधारण सुरक्षित स्थानतर्फ सरेका छन्। कम्बोडियाको ओड्डार मिन्चे प्रान्तमा मात्रै १,५०० परिवार विस्थापित भएको बताइएको छ।

यसैबीच, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले दुबै पक्षलाई तत्काल युद्धविराम गर्न आह्वान गरेका छन्। उनले भने, “थाइल्यान्ड र कम्बोडियाले देखाएको सकारात्मक संकेत र वार्ताको इच्छालाई म स्वागत गर्छु।” अनवर हाल आसियानका अध्यक्ष समेत हुन्।

थाइल्यान्डले १४ सर्वसाधारण र एक सैनिकको मृत्यु भएको पुष्टि गरेको छ, भने कम्बोडियाको ओड्डार मिन्चे प्रान्तका एक अधिकारीले एक सर्वसाधारणको ज्यान गएको जनाएका छन्।

संयुक्त राज्य अमेरिकाले पनि दुबै पक्षलाई हिंसा तत्काल रोक्न, सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न र द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ।