काठमाडौं, साउन
सिधाकुरा अनलाइन मिडियालाई नक्कली अडियो उपलब्ध गराएर विवादमा तानिएका राजकुमार तिमिल्सिना अन्ततः पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय इटहरीको टोलीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो। कोसी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी ईश्वर कार्कीले पक्राउको पुष्टि गरेका छन्।
सर्वोच्च अदालतले यसअघि तिमिल्सिनालाई छ महिनाको कैद सजाय तोकेको थियो। सोही प्रकरणमा, सिधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई पनि अदालतको अवहेलना गरेको ठहर गर्दै तीन महिनाको कैद सजाय तोकिएको थियो। तर, कँडेल र ढुंगानाले क्षमायाचना गरेपछि सात दिन जेल बसेर छुटेका थिए। तिमिल्सिना भने त्यसयता फरार रहँदै आएका थिए।
प्रहरी अनुसन्धान अनुसार, तिमिल्सिनाले सर्वोच्च अदालतका न्यायाधीश, केही मिडिया हाउस संचालकहरूसँगको ‘सेटिङ’ मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दा प्रभावित पार्ने उद्देश्यले नक्कली अडियो तयार पारेका थिए। यही अडियो सिधाकुरा अनलाइनलाई दिइएको थियो, जसपछि व्यापक विवाद चुलिएको थियो।
यस घटनाले न्यायालय र मिडिया क्षेत्रमा विश्वसनीयता संकट उत्पन्न गराएको भन्दै चौतर्फी आलोचना भएको थियो।