काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामामाथि व्यंग्य गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको एक विवादास्पद भिडियो साझा गरेका छन्। आइतबार ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा ओबामालाई एफबीआई एजेन्टहरूले ओभल अफिसबाट हतकडी लगाएर लैजाँदै गरेको देखिन्छ, जबकि ट्रम्प मुस्कुराउँदै हेरिरहेको दृश्य देखिन्छ।
भिडियोको सुरुवातमा राष्ट्रपति जो बाइडेन र अन्य डेमोक्र्याट नेताहरूले “कानुनभन्दा माथि कोही छैन” भनी बोलेको दृश्य समावेश गरिएको छ, जसलाई व्यंग्यका रूपमा प्रस्तुत गरिएको छ। भिडियो एआई (डिपफेक) प्रविधिबाट बनाइएको हो भन्ने खुलेको छ।
यो पोस्टले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया जन्माएको छ। ट्रम्प समर्थकहरूले यसलाई प्रशंसा गर्दै “यसलाई वास्तविक बनाऔं” भन्ने टिप्पणी गरेका छन्, भने आलोचकहरूले यसलाई “भ्रामक, उक्साहटपूर्ण र लोकतन्त्रका लागि खतरनाक” भन्दै आलोचना गरेका छन्।
यो भिडियो त्यस्तो समयमा सार्वजनिक भएको हो जब राष्ट्रिय गुप्तचर सेवा (डीएनआई) की पूर्व प्रतिनिधि तुल्सी ग्याबार्डले ओबामा प्रशासनमाथि गम्भीर आरोप लगाएकी छन्। उनले सन् २०१६ को निर्वाचनपछि ट्रम्प–रसिया साँठगाँठको कथा ओबामा प्रशासनकै योजना भएको दाबी गर्दै सम्बन्धित गोप्य कागजातहरू आफूसँग रहेको बताएकी छन्।
ग्याबार्डका अनुसार यी कागजातहरूमा ओबामाले कार्यालय छाड्नुअघि नै ट्रम्पलाई रोक्न षड्यन्त्र रचिएको प्रमाण छन्। उनले ती प्रमाणहरू न्याय विभाग र एफबीआईमा बुझाउने तयारी भइरहेको बताएकी छन्।
हालसम्म ओबामा वा उनको तत्कालीन प्रशासनको तर्फबाट यसबारे कुनै औपचारिक प्रतिक्रिया आएको छैन।