सोल — दक्षिण कोरियामा केही दिनदेखिको लगातारको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले कम्तीमा १४ जनाको ज्यान गएको छ। देशको विपद् व्यवस्थापन कार्यालयको हवाला दिँदै बीबीसीले यो जानकारी दिएको छ।
प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहे पनि अझै १२ जना बेपत्ता भएकाले मृतक संख्या थप बढ्न सक्ने आशंका गरिएको छ।
आइतबार सार्वजनिक गरिएको भिडियो फुटेजमा राजधानी सोल नजिकको गाप्योङ सहरका स्थानीय बासिन्दाहरू दलदल जस्तो हिलो हुँदै अगाडि बढिरहेका र क्षतिग्रस्त पुल पार गरेर राहत शिविरतर्फ जाँदै गरेको दृश्य देखिएको छ।
यसअघि, शनिबार सार्वजनिक अर्को भिडियोमा, दक्षिण को चुङचियोन क्षेत्रमा पहिरो गएर एउटा पूरै गाउँ हिलो र भग्नावशेषमा पुरिएको देखाइएको थियो।
प्रशासनले जोखिमयुक्त क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम तीव्र पारिएको जनाएको छ। मौसमविद्हरूले अझै केही दिन भारी वर्षा हुने चेतावनी दिएका छन्।