काठमाडौं — रुसको सुदूर पूर्वी तटीय क्षेत्रमा आइतबार शृंखलाबद्ध रूपमा शक्तिशाली भूकम्पहरू गएको अमेरिकी भूगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ।

स्थानीय समयअनुसार आइतबार बिहान सुरुमा ५.० र त्यसपछि ६.७ म्याग्निच्यूडको भूकम्प मापन गरिएको थियो। प्रारम्भिक झट्काबाट सुनामीको तत्काल जोखिम छैन भन्ने बताइएको थियो। तर ग्रीनविच समयअनुसार आइतबार बिहान ८:४९ मा ७.४ म्याग्निच्यूडको ठूलो भूकम्प आएपछि सुनामीको सम्भावना बढेको जनाइएको छ।

युएसजीएसका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु पेट्रोपाभलोभ्स्क–कामचात्स्की शहरबाट करिब १५० किलोमिटर पूर्व प्रशान्त महासागरमा रहेको थियो। प्रारम्भिक भूकम्पपछि धेरै पराकम्पनहरू पनि मापन गरिएका छन्।

संस्थाले रुसी तटमा ३० सेन्टिमिटरदेखि १ मिटर (३.३ फिट) सम्म, र जापान तथा अमेरिकी राज्य हवाईमा ३० सेन्टिमिटर (१ फिट)भन्दा कम छाल आउन सक्ने अनुमान गरेको छ।

रुसको आपतकालीन अवस्था मन्त्रालयले टेलिग्राममार्फत दिएको जानकारी अनुसार, बेरिङ सागरको दक्षिणपश्चिमी कमान्डर टापुमा ६० सेन्टिमिटर र कामचाटका प्रायद्वीपमा १५ देखि ४० सेन्टिमिटरसम्म छाल आउनसक्नेछ।

कामचाटका प्रायद्वीप प्रशान्त र उत्तर अमेरिकी टेक्टोनिक प्लेटहरूको मिलन बिन्दुमा पर्ने भएकाले भूकम्पको उच्च जोखिममा मानिन्छ। सन् १९०० यता यो क्षेत्रमा ८.३ म्याग्निच्यूड वा सोभन्दा ठूलो सातवटा भूकम्प गइसकेका छन्।

– एएफपी स्रोत