जनकपुरधाम – सिरहा मिर्चैयाका ११ वर्षीय विशाल पण्डितले कसरी तीन इञ्च लामो काँटी निल्न पुगे भन्ने कुरा सबैका लागि आश्चर्यको विषय बन्यो। काँटी निलेपछि उनी पेट दुख्ने समस्याबाट पीडित भए, तर डरका कारण उनले यो कुरा अभिभावकलाई बताउन सकेनन्।
पेटको पीडा लामो समयसम्म नहटेपछि उनका अभिभावकले उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा लगे। त्यहाँ गरिएको भिडियो एक्सरेमा विशालको सानो आन्द्रामा कालो रंगको तीन इञ्च लामो काँटी फसेको देखियो। यो देखेर अभिभावक मात्र होइन, अस्पतालका पेट तथा ग्याँस्ट्रोलोजी विशेषज्ञ डा. रामदेव चौधरी समेत अचम्ममा परे।
डा. चौधरीका अनुसार, “हामीले पहिलो प्रयासमै शल्यक्रिया नगरी इन्डोस्कोपी विधिबाट काँटी निकाल्ने निर्णय गर्यौं, र सफल भयौं।”
उनको चिकित्सकीय दक्षताका कारण सर्जरी बिना नै इन्डोस्कोपी विधिबाट काँटी निकाल्न सफल भएको हो।
डा. चौधरी जनकपुरधामको प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ पेट, छाती तथा ग्याँस्ट्रोलोजी विशेषज्ञ हुन्। उनका अनुसार यस्ता घटना दुर्लभ भए पनि बालबालिकामा कहिलेकाहीँ जिज्ञासावश यस्ता वस्तु निल्ने प्रवृत्ति देखिन्छ, जसप्रति अभिभावक सचेत रहनुपर्ने आवश्यकता छ।