शुक्रबार बमको धम्कीपछि दिल्लीका विभिन्न विद्यालयहरूमा सुरक्षा सतर्कता कडा पारिएको छ। रिचमन्ड ग्लोबल स्कूल, सोभरिन स्कूल, मोडर्न इन्टरनेशनल स्कूल, र हेरिटेज स्कूलमा प्रहरी र अग्नि नियन्त्रक टोली तैनाथ गरिएको हो।
रिचमन्ड ग्लोबल स्कूलकी प्रिन्सिपल मौपाली मित्राका अनुसार, बम राखिएको चेतावनीसहितको इमेल प्राप्त भएपछि तुरुन्तै प्रहरीलाई जानकारी दिइएको थियो। बम डिस्पोजल टोली र अन्य सुरक्षा निकायको सहयोगमा विद्यालय परिसर जाँच गर्दा कुनै विस्फोटक पदार्थ फेला परेन।
अधिकारीहरूका अनुसार, दिल्लीका २० भन्दा बढी विद्यालयले शुक्रबार बमको धम्कीसहितको इमेल प्राप्त गरेका छन्। पछिल्ला तीन दिनमा दिल्लीका झण्डै १० वटा विद्यालय र एक कलेजलाई पनि यस्तै इमेल आएको जनाइएको छ, जसपछि कतिपय विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएको थियो।
धम्की इमेलमा लेखिएको थियो
“हेलो, मैले विद्यालयको कक्षाकोठामा धेरै विस्फोटक उपकरण राखेको छु। तिनीहरू कालो प्लास्टिकको झोलामा छन्। म तिमीहरूलाई यो संसारबाट हटाउनेछु।”
अझ थपिँदै भनिएको छ,
“त्यहाँ केवल आमा–बुबा आफ्ना मृत सन्तानलाई अँगालो हालेर रुदैँ हुनेछन्। म यो समाचार देखेर हाँस्नेछु र त्यसपछि आत्महत्या गर्नेछु।”
यस घटनापछि दिल्लीकी पूर्व मुख्यमन्त्री आतिशीले सामाजिक सञ्जाल एक्स मार्फत सरकारप्रति आक्रोश पोख्दै बम धम्कीपछि विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न नसकेको भन्दै सत्तारूढ भारतीय जनता पार्टी ९भाजपा० सरकारको आलोचना गरेकी छिन्।
अधिकारीहरूका अनुसार थोमस स्कूल, वसन्त भ्याली स्कूल, द मदर इन्टरनेशनल स्कूल, रिचमन्ड ग्लोबल स्कूल, र सरदार पटेल विद्यालय पनि बमको चेतावनीको निशानामा परेका थिए।
यसअघि, दिल्ली विश्वविद्यालय अन्तर्गतको सेन्ट स्टिफन कलेजले पनि पुस्तकालयमा बम राखिएको भन्ने इमेल प्राप्त गरेको थियो। यद्यपि हालसम्म कुनै पनि विद्यालय वा कलेजमा संकास्पद वस्तु फेला परेको छैन।
सुरक्षा सतर्कता स्वरूप बम डिस्पोजल टोली, तालिम प्राप्त कुकुरसहितको बम स्क्वाड, दिल्ली अग्नि नियन्त्रण विभाग र प्रहरी टोली घटनास्थलहरूमा तैनाथ गरिएको छ।
दिल्ली प्रहरीले अन्य कलेजहरूले हालसम्म थप कुनै यस्तै जानकारी नदिएको जनाएको छ। सोमबार चाणक्यपुरी र द्वारका क्षेत्रमा पनि दुई विद्यालयलाई यस्तै धम्की इमेल प्राप्त भएको थियो।