एजेन्सी — पाकिस्तानको पञ्जाब प्रान्तमा लगातारको मुसलधारे वर्षाका कारण कम्तीमा ६३ जनाको मृत्यु भएको छ भने २९० जना घाइते भएका छन्। राष्ट्रिय विपत व्यवस्थापन प्राधिकरणका अनुसार भवन भत्किँदा थिचिएर, करेन्ट लागेर र डुबेर धेरैको ज्यान गएको हो।
वर्षाका कारण रावलपिण्डी शहरले बिहीबार सार्वजनिक बिदा घोषणा गर्दै सबैलाई घरमै बस्न आग्रह गरेको छ। बाढी प्रभावित नदी किनाराका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।
गत तीन सातायता देशभर वर्षासम्बन्धी घटनामा १८० जनाको मृत्यु भइसकेको छ, जसमा आधाजसो बालबालिका छन्।
पञ्जाबमा प्रमुख राजमार्गहरू बाढीका कारण अवरुद्ध भएका छन् भने दर्जनौं उडानहरू स्थगित भएका छन्। प्रान्तीय अधिकारीहरूले आगामी दिनमा थप भारी वर्षा र बाढीको चेतावनी जारी गर्दै उद्धार टोलीहरूलाई सतर्क अवस्थामा रहन निर्देशन दिएका छन्।
करिब २५ करोड जनसंख्या रहेको पाकिस्तान जलवायु परिवर्तनको उच्च जोखिममा परेको देश मानिन्छ। यहाँका १३ हजारभन्दा बढी हिमनदीहरू तीव्र गतिमा पग्लिँदै छन्, जसले प्राकृतिक विपत्तिको जोखिम झनै बढाएको छ।