अफ्रिका— दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले संगठित अपराधमा संलग्न भएको आरोप लागेपछि प्रहरी मन्त्री सेन्जो मुच्नुलाई पदबाट बर्खास्त गरेका छन्।

राष्ट्रपतिले आइतबार टेलिभिजनमार्फत सम्बोधन गर्दै मुच्नुविरुद्ध राजनीतिक हत्या, भ्रष्टाचार, तथा संगठित अपराधमा संलग्न रहेको गम्भीर आरोप लागेको र त्यसको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्। राष्ट्रपति रामाफोसाले भने, “राष्ट्रिय सुरक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने बेला हो, कोही पनि कानूनभन्दा माथि हुँदैन।”

राष्ट्रपतिले कानुन प्राध्यापक फिरोज काचालियालाई अन्तरिम प्रहरी मन्त्रीका रूपमा नियुक्त गरेका छन्।

यसबीच, बर्खास्त मन्त्री मुच्नुले आफू निर्दोष रहेको दाबी गर्दै छानबिनमा पूर्ण सहयोग गर्न तयार रहेको जनाएका छन्। ६७ वर्षीय मुच्नु अफ्रिकन नेसनल कांग्रेस  पार्टीका प्रभावशाली नेता मानिन्छन्।

यसअघि काजालु नाटाल प्रान्तीय प्रहरी प्रमुखले मुच्नुले आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न व्यापारीहरूसँग आर्थिक लाभ लिएको र १२१ वटा आपराधिक मुद्दाका फाइलहरू गायब पार्न निर्देशन दिएको आरोप लगाएका थिए।

मुच्नुविरुद्ध २०१८ मा राजनीतिक हत्या गराएको आरोप पनि लगाइएको छ। साथै, औषधी सिन्डिकेट र कार्टेलिङमा संलग्न उच्च पदस्थ नेताहरूको नामसमेत अनुसन्धानमा जोडिएको बताइएको छ।

राष्ट्रपतिले निष्पक्ष छानबिनको आश्वासन दिँदै भनेका छन्, “सरकार अपराध, भ्रष्टाचार र दण्डहीनताविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँछ।”