काठमाडौं— रुसले अमेरिका, जापान र दक्षिण कोरियालाई उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न चेतावनी दिएको छ । उत्तर कोरियाको पूर्वी सहर वोन्सानमा आयोजित उच्चस्तरीय भेटघाटमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभले उक्त चेतावनी दिएका हुन् ।
लाभरोभले भने, “हामी ती मुलुकहरूलाई चेतावनी दिन्छौं, जसले उत्तर कोरिया वा रुसविरुद्ध लक्षित सैन्य गठबन्धन बनाउन खोजिरहेका छन् । यस्ता सुरक्षा अभ्यासहरूले क्षेत्रीय अस्थिरता निम्त्याउँछन् ।”
उक्त भेटमा उनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सन्देश समेत हस्तान्तरण गरेका थिए । साथै, युक्रेन युद्धमा उत्तर कोरियाको ‘बिना सर्त समर्थन’ प्रति आभार प्रकट गरे ।
उत्तर कोरियाको सरकारी समाचार संस्थाका अनुसार दुवै देशले रणनीतिक र सामरिक सहकार्यलाई अझ तीव्र बनाउने प्रतिबद्धता जनाएका छन् । किम जोङ उनले भनेका छन्, “उत्तर कोरिया र रुसबीच सबै रणनीतिक विषयमा समान धारणा छ ।”
लाभरोभले उत्तर कोरियाको आणविक हतियार विकास प्रयासलाई समर्थन गर्दै त्यसमा “उत्तर कोरियाली वैज्ञानिकको योगदान रहेको” भन्दै सराहना गरे । साथै, उनले उत्तर कोरियाबाट रूसले पाएको सैनिक र हतियार सहयोगको पुष्टि गर्दै कुर्स्क क्षेत्रमा युक्रेनी हमलाविरुद्ध उत्तर कोरियाली सहयोग ‘महत्वपूर्ण’ रहेको उल्लेख गरे ।
यता, अमेरिका, जापान र दक्षिण कोरिया भने उत्तर कोरियाबाट रूसमा भइरहेको हतियार प्रवाह र त्यससँगै प्रविधि स्थानान्तरणको सम्भावनाबारे गम्भीर चासो व्यक्त गर्दै आएका छन् । उनीहरूले हालै आणविक क्षमतायुक्त अमेरिकी बमबर्षक समेत सहभागी हुने गरी त्रिपक्षीय सैन्य अभ्यास पनि गरेका छन् ।