काठमाडौं— दक्षिणी गाजामा रहेको एक राहत केन्द्र नजिकै गोलीकाण्डमा परी कम्तीमा २४ जनाको मृत्यु भएको नासेर अस्पतालले जनाएको छ।

स्थानीय समयअनुसार शनिबार, सयौँ प्यालेस्टिनीहरू राहत सामग्री लिन केन्द्रमा जम्मा भएका बेला इजरायली सेनाले गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनीहरूको भनाइ अनुसार, मानिसहरू खाना लिनको लागि केन्द्रमा जम्मा भएका थिए, त्यहीबेला अचानक गोली चलाइएको हो।

इजरायली रक्षा बल (आईडीएफ) ले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। आईडीएफ का एक अधिकारीले भनेका छन्, “मानिसहरू तितरबितर पार्न चेतावनीस्वरूप गोली चलाइएको थियो। हाम्रो सुरक्षामा खतरा महसुस भएकाले मात्र कारबाही गरिएको हो।” आईडीएफका अनुसार उनीहरूको गोलीबारीबाट कुनै पनि व्यक्ति घाइते भएको छैन।

यसबीच, बीबीसीले दुबै पक्षको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ।

गाजामा पछिल्लो समय राहत सामग्रीको अभाव तथा सैन्य हिंसा जारी रहेकाले मानवीय संकट अझ गहिरिँदो देखिएको छ।