एजेन्सी, असार २७

रुसले युक्रेनका सैन्य हवाई क्षेत्रहरूमा लगातार हवाई आक्रमण गरिरहेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार विगत २४ घण्टामा लामो दूरीका हतियार र ड्रोन प्रयोग गर्दै युक्रेनी सैन्य पूर्वाधारमा ठूलो मात्रामा आक्रमण गरिएको हो ।

खार्किभ, डोनेट्स्क, निप्रोपेट्रोभ्स्क लगायतका क्षेत्रमा युक्रेनी सेनाका धेरैजसो आक्रमणहरू विफल पारिएको दाबी गर्दै रुसले युक्रेनी सैन्य उपकरणहरू नष्ट गरिएको जनाएको छ । निकोलाभ क्षेत्रमा रहेको युक्रेनी तैनाथी क्षेत्रमा मिसाइल आक्रमण गरिएको भिडियो पनि सार्वजनिक गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि रुसले कीभ र अन्य शहरहरूमा १० घन्टासम्म आक्रमण गरेको बताएका छन् । युक्रेनी वायुसेनाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै देशका कम्तीमा आठ ठाउँमा हवाई आक्रमण भएको उल्लेख गरेको छ ।

वायु रक्षा बलले ३८२ वटा हवाई लक्ष्य अवरुद्ध गरेको जनाइएको छ । यो युक्रेनमा लगातार दोस्रो दिन हवाई आक्रमण भएको हो, जसले द्वन्द्व झनै जटिल बन्दै गएको संकेत गर्छ ।