रौतहट – रौतहटको गौर नजिकै प्रहरीले स्रोत नखुलेको १२ लाखभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान भारतबाट गौरतर्फ आइरहेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा रकम फेला परेको हो।

पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–२ का चन्दन पण्डित रहेका छन्। प्रहरीका अनुसार, पण्डितले बोकेको झोलाबाट ९ लाख २८ हजार ५ सय रुपैयाँ नेपाली र २ लाख १५ हजार रुपैयाँ भारतीय गरी कुल १२ लाख ७३ हजार ३ सय नगद फेला परेको हो।

मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार, पैसा कुन स्रोतबाट आएको भन्ने कागजात देखाउन नसकेपछि पण्डितलाई नियन्त्रणमा लिइएको हो। साथमा उनले प्रयोग गरिरहेको बीआर ०३ जे ९५४३ नम्बरको भारतीय मोटरसाइकल पनि बरामद गरिएको छ।

हाल उनलाई जिल्ला प्रहरी कार्यालय, रौतहटमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।