रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शैयाको विशिष्टिकृत अस्पतालको रूपमा स्तरोन्नति गरिने घोषणा गरेका छन्।
बिहीबार अस्पताल परिसरमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन गर्दै उनले प्रदेश सरकारले अस्पतालको पूर्वाधार र सेवामा उल्लेखनीय सुधार गर्ने प्रतिबद्धता जनाए। करीब सात करोड ७७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवनको उद्घाटन मुख्यमन्त्री आचार्यले गरेका हुन्।
मुख्यमन्त्री आचार्यले अस्पताललाई १५ शैयामा सीमित नराखी ५० शैयाको संरचनामा विस्तार गरिने जानकारी दिए। उनले आवश्यक प्रक्रिया तत्काल स्वास्थ्य मन्त्रालयमार्फत अघि बढाउने निर्देशनसमेत दिए।
“उपकरण र विशेषज्ञ जनशक्तिको व्यवस्था गर्न प्रदेश सरकारले आवश्यक पहल गर्छ,” उनले भने, “अस्पताल व्यवस्थापन समितिले यसमा गम्भीर ध्यान दिनुपर्छ।”
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्टको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू खेमबहादुर सारु, आदेशकुमार अग्रवाल, र नेपाल प्रहरी अस्पताल, महाराजगञ्जका प्राविधिक डिआइजी डा. गोपेश कुमार ठाकुरलगायतले मन्तव्य दिएका थिए।