सर्बिया र ग्रीस पठाउने प्रलोभनमा ठगी, दुई जना पक्राउ
काठमाडौं – वैदेशिक रोजगारीको प्रलोभन देखाई सर्बिया र ग्रीस पठाइदिने भन्दै ठगी गर्ने दुई जना काठमाडौंमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ स्थायी घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया सजु श्रेष्ठ र पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ स्थायी घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ३० वर्षीय नारायण लाम्ताङगे रहेका छन्।
प्रहरीका अनुसार, सजुले सर्बिया पठाइदिन्छु भन्दै तीन जनाबाट २० लाख रुपैयाँ असुलेकी थिइन् भने नारायणले ग्रीस पठाइदिन्छु भन्दै एकजनाबाट १६ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि दुबै जना सम्पर्कविहीन भएका थिए।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो।
प्रहरीले दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।