नयाँ दिल्ली— भारतको गुजरात राज्यमा बुधबार बिहान एक पुरानो पुल भाँचिँदा ठूलो दुर्घटना भएको छ। वडोदरा र आणन्द जिल्ला जोड्ने महिसागर नदीमाथिको 'गम्भीरा पुल'को बीचको हिस्सा अचानक भाँचिएपछि दुई मालवाहक ट्रक, एउटा बोलेरो जीप र केही अन्य सवारी साधन नदीमा खसेका छन्।

४५ वर्षअघि निर्माण गरिएको सो पुल अत्यधिक जीर्ण अवस्थामा रहेको बताइएको छ। दुर्घटनापछि कांग्रेस आईका नेता तथा गुजरात विधानसभामा विपक्षी नेता अमित चावडाले सामाजिक सञ्जालमार्फत घटनामा चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल उद्धार कार्य तीव्र बनाउन र वैकल्पिक यातायातको व्यवस्था गर्न आग्रह गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई जनाको शव फेला परेको छ भने अन्य बेपत्ताहरूको खोजी कार्य जारी छ। स्थानीय प्रशासन, दमकल र राष्ट्रिय विपद् प्रतिक्रिया बलको टोली उद्धार कार्यमा खटिएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार पुल भाँचिँदा ठूलो आवाज आएको र क्षणभरमै सवारी साधनहरू नदीमा खसेका थिए। घटनास्थलमा ठूलो भीड लागेको र राहत तथा उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

यस घटनाले भारतभरि नै पूराना पूर्वाधारको सुरक्षा र नियमित निरीक्षणको सवाललाई पुनः चर्चामा ल्याएको छ।