काठमाडौं— रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बर्खास्त गरेको केही घण्टापछि रूसका पूर्वयातायात मन्त्री रोमन स्टारोभोइटले आत्महत्या गरेका छन् ।
पुटिनले सोमबार बिहान स्टारोभोइटलाई बर्खास्त गरेका थिए । बर्खास्तीको घोषणा आधिकारिक क्रेमलिन वेबसाइटमा प्रकाशित भएको थियो । उपमन्त्री आन्द्रे निकितिनलाई कार्यवाहक मन्त्री नियुक्त गरिएको थियो ।
पत्रकारहरूले स्टारोभोइटको बर्खास्तीको कारण सोध्दा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले विश्वासको कमीका कारण नभएको बताए पनि उनले कुनै वैकल्पिक कारण उल्लेख गरेनन् ।
रूसको अनुसन्धान समितिले वक्तव्यमा जनाएअनुसार स्टारोभोइटको शव मस्कोको उपनगर ओडिन्ट्सोभोमा एक कारभित्र फेला परेको थियो । उनको शरीरमा गोलीको चोट फेला परेको समितिले बताएको छ ।
मे २०२४ मा मन्त्री हुनुअघि स्टारोभोइट दक्षिणी रूसी कुस्र्क क्षेत्रका गभर्नर थिए । युक्रेनको आश्चर्यजनक आक्रमण हुनुअघि उनले उक्त पद छोडे पनि रूसी क्षेत्रमा सुरक्षा विफलताको लागि उनलाई आंशिक रूपमा दोषी ठहर्याइएको थियो ।