काठमाडौं— इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ। इजरायली सेनाका अनुसार इरानबाट क्षेप्यास्त्र प्रहार सुरु भएपछि इजरायलका विभिन्न क्षेत्रमा साइरन बजाइएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको सहमति भएको घोषणा गरेकै केही समयपछि भएको हो। तर, इरानी अधिकारीहरूले ट्रम्पको उक्त दाबीलाई खारेज गरेका थिए।
समाचार एजेन्सी एएफपीका अनुसार इजरायली सेनाले देशका विभिन्न स्थानमा खतरा संकेत स्वरूप साइरन बजाइएको पुष्टि गरेको छ। साथै, इजरायली सेनाको हवाई सुरक्षा प्रणालीले मिसाइल आक्रमणलाई आकाशमै रोक्ने प्रयास गरिरहेको जानकारी दिइएको छ।
टाइम्स अफ इजरायलका अनुसार इजरायलको उत्तर र दक्षिणी भागमा साइरन बजाइएको छ। सुरक्षा निकायहरूले नागरिकलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।
यस आक्रमणले इरान–इजरायल सम्बन्धमा पुनः तनाव चुलिएको संकेत दिएको छ। जबकि अमेरिकी पक्षले दुई देशबीच शान्तिका प्रयास भइरहेको भन्दै आएको थियो, इरानको यो कदमले सम्भावित युद्धको खतरा अझ बढाएको छ।