काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एलन मस्कसँगको सम्बन्ध अब सकिएको बताएका छन् ।
अमेरिकाको एनबीसी न्युजलाई शनिबार दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “म अब सम्बन्ध सकिएको ठान्छु ।”
टुटेको सम्बन्ध फेरि जोड्न चाहनुहुन्छ वा हुन्न भनेर सोध्दा उनले अब चाहन्न भने ।
ट्रम्पको टिप्पणी मस्कसँग सामाजिक सञ्जालमा भएको ठूलो विवादपछि आएको बीबीसीले जनाएको छ ।
विश्वकै सबैभन्दा धनी अमेरिकी अर्बपति व्यापारी मस्कले, जसले ट्रम्पको निर्वाचन अभियानमा करोडौँ डलर चन्दा दिएका थिए र ह्वाइट हाउसमा सहयोगी बनेका थिए । तर मस्कले ट्रम्पको कर र खर्च विधेयक (बिग ब्युटिफुल बिल)को खुल्ला आलोचना गरेपछि दुईबीच यो विवाद सार्वजनिक भएको हो ।
धेरै रिपब्लिकनहरूले राष्ट्रपतिको पक्ष लिएका छन् । उपराष्ट्रपति जेडी भ्यान्सले मस्क अत्यन्तै आक्रमक भएको र उनलाई फेरि पार्टीमा स्वागत गरिने सम्भावना नभएको बताएका छन् ।
भ्यान्सले पोडकास्टर थियो भनसँग कुरा गर्दै मस्कले ठूलो गल्ती गरेको बताए ।
हप्तौँदेखि मस्कले ट्रम्पको कर र खर्च विधेयक ९बिग ब्युटिफुल बिल०को आलोचना गरिरहेका थिए ।
उनले यो विधेयकले राष्ट्रिय घाटामा खर्बौं डलर थप्ने र सरकारी कार्यदक्षता विभाग ९डोज०को प्रमुख भएर उनले गरेको सरकारी खर्च कटौती गर्न काम बेकार हुने भनेका थिए ।
नियुक्ति भएको १२९ दिनपछि डोज छाडेका मस्कले सामाजिक सञ्जाल एक्समा यो विधयेक घिनलाग्दो भएको बताएका थिए । तर ट्रम्पको प्रत्यक्ष आलोचना भने गरेका थिएनन् ।
गत बिहीबार ट्रम्पले मस्कको व्यवहारले निराश परेको बताएपछि मस्कले सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई यौनअपराधको आरोपमा जेलमै मृत्यु भएको वित्तीय अपराधी जेफ्री एप्स्टिनसँग जोडेर आरोप लगाए । तर केही समयपछि यो पोस्ट हटाइएको थियो । पछि एप्स्टिनको वकिलले आरोपको खण्डन गरे ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा मस्क पागल भएको भनेर पोस्ट गरे भने र मस्कको कम्पनीहरूसँग गरेका सरकारी ठेक्का सम्झौता रद्द गर्ने धम्की दिए ।
अमेरिकी टीभी एनबीसीलाई ट्रम्पले दिएको अन्तर्वार्तामा मस्कले राष्ट्रपतिको पदको अनादर गरेको बताएका छन् ।
यसैबीच, मस्कले अर्को वर्षको अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्प विरोधीहरूलाई समर्थन गर्न सक्ने संकेत दिएका छन् ।
तर, ट्रम्पले मस्कले डेमोक्रेटहरूलाई समर्थन गरेमा गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् ।