काठमाडौं— दक्षिणी गाजाको रफाह क्षेत्रमा रहेको अमेरिकी अनुदान प्राप्त राहत सामग्री वितरण केन्द्रनजिकै इजरायली ट्यांकबाट गोलाबारी हुँदा २६ जनाको मृत्यु तथा १५० जना घाइते भएका छन्।
रफाहका स्थानीय पत्रकार मोहम्मद घरिबले अमेरिकाले पठाएको मानवीय सहायताको वितरण केन्द्रनजिकै हजारौँ प्यालेस्टिनी भेला भइरहेका बेला इजरायली ट्यांकले अन्धाधुन्द गोलाबारी गरेको बताएका छन्।
आक्रमणपछि मृतक र धेरै घाइतेलाई गधा गाडामा राखेर अल(मवासी क्षेत्रको रेडक्रस फिल्ड अस्पतालमा लगिएको बताइएको छ।
मोहम्मद घरिबले भनेका छन्, ‘लास र घाइतेहरू लामो समयसम्म भुइँमा लडिरहेका थिए। इजरायली नियन्त्रणमा रहेकाले उद्धार टोली उक्त क्षेत्रमा पुग्न सकेनन्। यसले गर्दा मानिसहरू घाइतेहरूलाई फिल्ड अस्पताल पुर्याउन गधा गाडा प्रयोग गर्न बाध्य भए।’
रेडक्रस फिल्ड अस्पतालले आक्रमणमा २६ जनाको मृत्यु र १५० जना घाइते भएको पुष्टि गरेको बीबीसीले जनाएको छ।