सुनसरी । सुनसरीको बराहक्षेत्रमा शनिबार बेलुका गोली चलेको छ । बराहक्षेत्र नगरपालिका–३ मा प्रहरीले गोली चलाएको हो । घटनामा १ जना घाइते भएका छन् ।
लागुऔषध गाँजाको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको थियो । गाँजाका पोका बोकेर आउँदै गरेका केही व्यक्ति प्रहरीलाई देख्नसाथ फरार भएका थिए ।
त्यही समूहमा रहेका १ जना व्यक्तिले भने प्रहरीलाई खुकुरीले आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार गाँजाको अप्रेशनमा गएको टोलीले रोक्न खोज्दा गाँजा ओसारपसारमा संलग्नमध्ये १ जनाले प्रहरीलाई आक्रमणको प्रयास गरेका हुन् ।
‘प्रहरीमाथि आक्रमणको प्रयास भयो । खुकुरीले हान्न खोजेपछि सुरुमा २ राउण्ड हवाईफायर गरिएको थियो । झन् आक्रामक बनेपछि आत्मरक्षाका लागि थप गोली चलाउनु पर्यो,’ कार्कीले भने । उनका अनुसार गोली हानेर बराहक्षेत्र–३ का ५५ वर्षीय रामप्रसाद लिम्बूलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले हानेको गोली लागेर लिम्बू घाइते भएका छन् । उनको घुँडादेखि तलको भागमा गोली लागेको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घटनास्थलबाट प्रहरीले गाँजा बरामद गर्यो कि गरेन भनेर खुल्न बाँकी छ । घटनाको थप विवरण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।