काठमाडौं— वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विकाश गुरुङ, रन्जना अधिकारी, यादव प्रसाद घिमिरे र लोकजन खड्का रहेका छन् । 

उनीहरुले जापान, क्रोएसिया अजरबैजानजस्ता देशमा पठाउने भन्दै ठगी गरेको नेपाल प्रहरीले जनाएको छ । 

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएको उजुरी आएपछि उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल  पठाइएको छ ।