काठमाडौं— ग्याँस लिक भएर बुधबार बिहान काठमाडौंको मखनटोलमा भिषण आगलागी भएको छ । आगलागीमा परी स्थानीय एक महिलाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका– २४ मा रहेको मखनगल्ली टोलमा बस्ने दयाराम श्रेष्ठको घरमा ग्यास लिक हुँदा आगलागी सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको श्रेष्ठको ४ तले घरमा आगलागी भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भएर आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरी आगो निभाउन परिचालन गरिएको छ। आगलागीमा परी महिलाको ज्यान गएको भनिएता पनि उनको सनाखत हुन भने बाँकी छ।

आगो दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो । काठमाडौं र ललितपुरबाट दमकल लिएर निभाउने प्रयास धमाधम भइरहेको प्रहरीले जनाएको छ।