काठमाडौँ । विश्वका चर्चित अर्बपति र माइक्रोसफ्टका संस्थापक बिल गेट्सले संसारलाई झस्काउने निर्णय लिएका छन्। उनले आगामी २० वर्षभित्र आफूले संकलन गरेको करिब २०० अर्ब अमेरिकी डलर बराबरको सम्पूर्ण सम्पत्ति दान गर्ने घोषणा गरेका छन्। यहीसँगै उनले सन् २०४५ को डिसेम्बर ३१ मा गेट्स फाउन्डेसन स्थायी रूपमा बन्द गरिने खुलासा पनि गरेका छन्।


गेट्सले बिहीवार आफ्नै ब्लग ‘गेट्स नोट्स’ मा भावुक पोस्टमार्फत यो ऐतिहासिक घोषणा गर्दै भने, "अब समय आएको छ, मैले कमाएको सम्पत्ति समाजका लागि फिर्ता दिने।"


पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्ससँग सन् २००० मा स्थापना गरिएको गेट्स फाउन्डेसनलाई उनले सुरुमा मृत्युपछि पनि चलाउने योजना बनाएका थिए। तर अहिले उनी बाँचुन्जेल नै सम्पूर्ण सम्पत्ति समाजसेवामा खर्च गर्ने निर्णयमा पुगेका छन्।


गेट्सले लेखेका छन्, “२० वर्षभित्र मेरो लगभग सम्पूर्ण सम्पत्ति गेट्स फाउन्डेसनमार्फत विश्वभरको जीवन बचाउन र सुधार गर्न लगाइनेछ।” उनका अनुसार यस कार्यले अन्य अर्बपतिहरूलाई पनि दान गर्न प्रेरणा दिने विश्वास छ।


गेट्स, मेलिन्डा र वारेन बफेटले मिलेर सुरु गरेको ‘गिभिङ प्लेज’ अभियानमा हाल २४० भन्दा बढी धनाढ्यहरू सहभागी भइसकेका छन्, जसले आफ्नो अधिकांश सम्पत्ति दान गर्ने प्रण गरेका छन्।


“म मरेपछि मलाई 'धनी भएर मरे' नबनाइदिनु,” उनले लेखेका छन्, “आजको संसारमा धेरै गम्भीर समस्या छन्, जसको समाधान मेरा पैसाले सम्भव छ।”


विश्वकै ठूलो परोपकारी संस्थामध्ये एक, गेट्स फाउन्डेसनले हालसम्म १०० अर्ब डलरभन्दा बढी रकम स्वास्थ्य, खोप, रोग निदान र उपचारमा खर्च गरिसकेको छ।


आगामी दुई दशकमा संस्था तीन मुख्य लक्ष्यमा केन्द्रित हुने छ — आमा र नवजात शिशुको मृत्यु न्यूनीकरण, घातक सङ्क्रामक रोगको अन्त्य, र करोडौं मानिसलाई गरिबीबाट मुक्ति।


अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकार सामाजिक क्षेत्रको बजेट कटौती गरिरहेको बेला आएको गेट्सको यो घोषणा निकै प्रेरणादायक र साहसी कदम मानिएको छ। हाल गेट्सको सम्पत्ति १०८ अर्ब डलर रहेको छ, र उनले यो २०४५ सम्ममा ९९% सम्म घटाउने अठोट लिएका छन्।


गेट्सले आफ्नो निजी सम्पत्ति र लगानी (जस्तै टेरापावर) को आम्दानी समेत समाजसेवामा खर्च गर्ने बताएका छन्। उनले भने, “माइक्रोसफ्ट स्थापना भएको ५० वर्ष पुगेको यो अवसरमा अब मैले समाजलाई फर्काउने बेला आएको छ।”