नैरबी, २६ बैशाख । हात्तीको दाँत र गैंडाको सिङ्गको तस्करीको बारेमा तपाइले सुन्नु भएको होला तर अब त सिकारीले हाम्रो वातावरणका लागि बहुमूल्य कमिला पनि तस्करी गर्न थालेका छन् । 


यस्तै एउटा चकित पार्ने घटनामा केन्यामा घटेको छ । त्यहाँको एक अदालतले दुई नाबालिग सहित चार जनालाई हजारौं कमिला तस्करी गरेको आरोपमा दोषी पाएको छ र उनीहरूलाई ७,७०० अमेरिकन डलर जरिवाना गरेको छ। अदालतले नाबालिगले जरिवाना नतिरे १२ महिना जेल पठाउन पनि भनिसकेको छ । 


खासमा केन्याली बन्यजन्तु अधिकारीहरूले अप्रिल ५ मा छापा मारेर दुई बेल्जियम किशोर, एक भियतनामी नागरिक र एक स्थानीयलाई पक्राउ गरेका थिए। तिनीहरूबाट ५ हजार ४४० विशाल अफ्रिकी हार्भेस्टर रानी कमिलाहरू बरामद गरियो, जुन तस्करी भइरहेको थियो। 


निस्सन्देह, तपाईले सोचिरहनु भएको छ कि तिनीहरूले यी कमिलाहरूसँग के गर्छन्। वास्तवमा यी रानी कमिलाको मुल्य यति धेरै छ कि सुनेर तपाई छक्क पर्नुहुनेछ । केन्याली मजिस्ट्रेटका अनुसार एसिया, उत्तर अमेरिका र युरोपको अनलाइन बजारमा यी कमिलाको मूल्य ८ लाख युरो रहेको छ ।


यो एक मात्र कमिला हो, जसले अण्डा दिन सक्छ। जसबाट सम्पूर्ण कमिला उपनिवेश अर्थात् मजदुर, सिपाही र भावी रानीहरूको जन्म हुन्छ। तिनीहरूको तस्करीले केन्याको वन्यजन्तु इकोसिस्टमलाई खतरामा पारेको छ। 


 बेल्जियमका किशोर लोर्नोय डेभिड र सेपे लोडेविक्सले आफूलाई कमिला प्रेमी भएको दाबी गर्दै अदालतमा आफूले यो सबै अज्ञानताका कारण गरेको दाबी गरेका छन् । तर, अधिकारीहरूले लोर्नोयको फोनमा केही फेला चीजहरू फेला पारे, जसले उनको झूटलाई उजागर गरिदिएको थियो । खासमा उनी ‘एन्ट ग्याङ’ नामक समूहको सदस्य रहेको खुलेको थियो । उनले प्रति कमिला २०० डलरमा २ हजार ५०० रानी कमिला किनेका थिए । अदालतले यति ठूलो संख्यामा कमिला पाल्नु कुनै शौख हुन नसक्ने बताउँदै तस्करी ठहर गरेको हो ।