काठमाडौं — राजावादीको आन्दोलनमा २०८१ चैत्र १५ गते तीनकुने घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरेको आरोपमा सेनाका पुर्व हवल्दार पक्राउ परेका छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ घर भएर हाल तारकेश्वर नगरपालिका वडा नम्बर १० मनमैजु बस्ने मन बहादुर कालामगरलाई २०८२ बैशाख २५ गते पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आयोजना गरेको प्रदर्शनमा सहभागी कालामगरले रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सवार गाडी जलाएका एसपी बोहराले बताए। कालामगर सेनाका पुर्व हवल्दार हुन् ।
उनले गाडीमा आगजनी गर्नुअघि तीनकुनेमा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकमाथी आक्रमण र दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको र बालकुमारी पुल नजिकै गाडीमा आगजनी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।