काठमाडौं— नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौं महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुईँ तलामा खानतलासी गर्दा ४० लाख ३२ हजार ५ सय नगदसहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको कलकत्ता घर भई काठमाडौं महानगरपालिका २३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही घर भई चन्द्रागिरि नगरपालिका १५ तिनथाना बस्ने ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् । 

उनीहरूको साथबाट नगद र दुई थान मोबाइलसहित विभिन्न बचत तथा ऋण सहकारी संस्थाको हस्ताक्षर मात्र गरेको खाली चेक पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ ।