काठमाडौ— दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशवराज ओझाको मृत्यु भएको छ। गाउँपालिकाको शैक्षिक कार्यक्रम सकाएर मोटरसाइकलमा घर फर्कने क्रममा सोमबार बेलुका लेकम गाउँपालिका–४ गोदालीमा दुर्घटनामा परी उनी सख्त घाइते भएका थिए। 

मोटरसाइकलमा फर्कने क्रममा गोदालीमा माथिबाट खसेको ढुंगा लागेर गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रहेका ओझाको पिँठ्युमा चोट लागेको इलाका प्रहरी कार्यालय रिठाचौपातले जनाएको छ । सख्त घाइते अवस्थामा उनलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याउँदा डाक्टरले ओझालाई मृत घोषणा गरेको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताए। उनको निधनमा गाउँपालिकाले बुधबार (आज) शोक बिदा दिएको छ।