मकवानपुर— मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।
राक्सिराङ–९ खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप बुधबार बिहान सवा ८ बजे दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरी चौकी कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काका अनुसार घाइते सबैको उद्धार गरी तत्काल उपचारका लागि मनहरी अस्पताल पठाएको छ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा राक्सिराङ–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, अन्दाजी ७५ वर्षीय डिलबहादुर घलान, र उनको ७० वर्षीया श्रीमती फुलमाया घलान पनि गम्भीर घाइते भएका छन्। उनीहरूलाई टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ।
त्यस्तै, ३८ वर्षीय रुप बहादुर राउत र ४८ वर्षीय दिपक खड्का पनि गम्भीर घाइते छन्। दीपकलाई टाउको र शरीरमा चोट लागेको छ भने राउतको टाउकोमा चोट लागेको बताइएको छ।
मध्यम घाइते हुनेहरूमा ५० वर्षीय सूर्य अधिकारी र १४ वर्षीय कुमार तामाङ छन्।
सूर्यको हातमा र कुमारको टाउकोमा चोट लागेको प्रहरीको भनाइ छ। घाइते हुनेमा चालक सोही गाउँपालिका–९ का २८ वर्षीय सुजन तामाङ घाइते भएका छन्। उनलाई पनि अस्पताल पठाइएको छ। गम्भीर घाइतेहरुलाई गाउँपालिकाको एम्बुलेन्सबाट मनहरी पठाइएको प्रहरीको भनाइ छ ।
दुर्घटनाको कारण खुल्न नसके पनि प्रारम्भिक अनुमानअनुसार तीव्र गतिका कारण गाडी अनियन्त्रित भई खसेको हुन सक्ने प्रहरीले जनाएको छ।