काठमाडौं—  काठमाडौँको शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकमाथि बाल यौन दुर्व्यवहारको आरोप लागेको छ । १४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा सोही स्कुलका प्रशासन तर्फ परीक्षा विभागमा ५४ वर्षीय शिक्षक टिकाप्रसाद सुवेदीलाई पक्राउ गरेको हो ।

बालिकालाई पटक–पटक बाल यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाको मौखिक जाहेरीका आधारमा नयाँ बानेश्वर प्रहरी वृत्तले सुवेदीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए ।

मोरङको बेलबारी नगरपालिका घर भई काठमाडौँको कागेश्वरी मनोहरामा बस्दै आएका सुवेदी सो विद्यालयमा करिब १२ वर्षदेखि कार्यरत थिए ।

सुवेदीविरुद्ध पीडितकी आमाले शनिबार किटानी जाहेरी दिएकी छन् । प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरेर सुवेदीलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । यौन बाल दुर्व्यवहारको कसुरमा सुवेदीलाई पक्राउ गरी पाँच दिनको म्याद थपेर प्रहरी वृत्त नयाँबानेश्वरले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।

सुवेदीले २०८० चैत महिनामा ती किशोरीलाई पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । टिफिनको समयमा कक्षाबाट बाहिर निस्केको बेला सुवेदीले आफू एक्लै स्टाफ कोठामा बसी यता आऊ भनेर १४ वर्षीया ती किशोरीलाई बोलाउने गरेको किटानी जाहेरीमा उल्लेख छ । उनले स्टाफ कोठामा बोलाइ करणी गर्ने हिसाबले बालिकाका संवेदनशील अंगहरूमा छुने र उनलाई पनि आफ्ना अंग छुने, समाउने गर्न लगाएको आरोप पीडितकी आमाको छ ।

पछिल्लो पटक २०८० चैत २१ गते दिउँसो ३स्३० बजे सुवेदीले सोही घटना दोहोर्‍याएपछि पीडित किशोरीले आमालाई सबै कुरा बताएकी थिइन् । त्यसपछि विद्यालयमा गुनासो गर्दा उल्टै मिलापत्र गर्न दबाब दिँदै छोरीलाई टर्मिनेट गर्दिने धम्की दिइएको पीडितकी आमाले बताइन् ।

छोरीको पढाइको सवाल छ भनेर प्रभावित पार्ने र टर्मिनेट गर्दिन्छु भनेर स्कुलले दबाब दिई शुक्रबार मिलापत्र गर्न लगाएको उनले बताइन् । बेबीलोनका फाउन्डर तथा प्रिन्सिपल राजु राईसहितले मिलापत्र कागजमा हस्ताक्षर गर्न दबाब दिएको उनको भनाइ छ ।

‘पढाइको सवाल छ भनेर शुक्रबार मात्र धम्की दिई जबरजस्ती मिलापत्र गर्न लगाइएको थियो । प्रिन्सिपल र चेयरमेनसहित १०–१२ जना थिए । कानुन व्यवसायीहरू पनि आएका थिए,’ उनले भनिन् ।

शुक्रबार मिलापत्र गरेको बताएकी पीडितकी आमाले शनिबार पुनः प्रहरीमा लिखित किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरीमा सुवेदीले ती किशोरीलाई जस्तै अन्य विद्यार्थीलाई पनि बाल यौन दुर्व्यवहार गरेको दाबी गरिएको छ । जाहेरीमा पीडितका साथीहरूले पठाएको मेसेज स्क्रिन सर्ट समेत सबुद प्रमाणका रूपमा पेस गरिएको उल्लेख गरिएको छ ।

सुवेदीलाई मुलुकी अपराध संहिता २०७४ दफा २२५ बमोजिम बाल यौन दुर्व्यवहार कसुरमा कारबाही गर्न माग गरिएको छ । उक्त व्यवस्थाअनुसार सुवेदी दोषी ठहर भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुनसक्छ ।