काठमाडौं— यही बैशाख १७ गते आएको असिनापानीले करिब १० लाख भन्दा बढी चिचिला लाग्न लागेको स्याउ खेतीमा क्षति गरेको छ । गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले चिचिला लाग्ने बेला परेको असिनापानीले स्याउमा क्षति गरेको हो ।

जिल्लामा चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको र सोह्र हजार घरपरिवार स्याउखेतीमा निर्भर रहेका कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार गत वर्ष ६१ करोड ४१ लाख स्याउ बिक्री भएको थियो । 

असिनाले स्याउमा गरेको क्षतिको विवरण स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर तथ्यांक संकलन भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।

गत वर्ष स्याउबाट आठ लाख कमाएको र यस वर्ष स्याउ राम्रो फल्ने बेला असिनापानीले क्षति गरेको किसान नुर्बु लामाले  जानकारी दिए । वडाका आफूसहितका नौ घर परिवार स्याउखेती गर्दै जिवीको पार्जन गर्दै आएकोमा असिनापानीले स्याउमा क्षति गरेको उनको भनाइ छ ।

प्रमुख आम्दानीका रूपमा रहेको स्याउको चिचिला लाग्ने बेला पातसमेत झार्ने गरी परेको असिनाले स्याउका रूख टाकुला देखिने थालेको स्याउ किसान लामा बताउँछन्।  

स्याउलगायत जौं, गहुँ, मकै, भोटे जिरालगायत बालीमा क्षति गरेको छ । गत वर्षतिर शिखर इन्स्योरेन्सले बीमा गरिदिएकाले किसानलाई राहत भएको थियो । यो वर्ष बीमा नहुँदा स्याउ किसान मर्कामा परेको लामाले बताए । 

गुठीचौर–२ मुडरीगाउँमा असिनापानीले स्याउमा क्षति गरेको वडाध्यक्ष दीपबहादुर ऐडीले बताए । कोल्ते, गुठीगाउँ र मुडुरीगाउँ लगायत करिब पाँच सय ५० घरपरिवारले लगाएको गहुँ, जौं, ओखर, स्याउ र बर्खे फलफूलमा क्षति गरेको छ । जौं र गहुँबाली भित्र्याउने बेला परेको असिनापानीले किसान चिन्तित भएको वडाध्यक्ष ऐडीको भनाइ छ ।