काठमाडौं— रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा भर्ना भएका एक व्यक्तिहरूलाई शारीरिक यातना दिएको भिडियो बाहिरिएको छ । सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको भिडियो सार्वजनिक भएको हो ।

सामाजिक सन्जाल फेसबुकमार्फत सार्वजनिक भएको उक्त भिडियोको दृश्यमा एक युवकलाई चार जनाले समातेर सेतो लाठीले पैतलामा हानेको दृश्य देखिन्छ ।

अमानवीय व्यवहार गर्ने अधिकार कसले दिएको भन्दै घटनाको चारैतिर आलोचना भइरहेको छ । साथै कानुनी कारबाही अगाडि बढाउन पनि आग्रह गरेका छन् ।

उक्त सुधार केन्द्रको उद्घाटन गौर नगरपालिका नगरप्रमुख शम्भु साहले गरेका थिए । त्यहाँ भर्ना भएका व्यक्तिहरूलाई यातना दिइएको दृश्यले सामाजिक सन्जालमा चर्को आलोचना भइरहेको हो ।

घटनापछि सुधार केन्द्रका सञ्चालकलाई अहिले जिल्ला प्रहरी कार्यालय गौरमा बोलाएर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए।

अनुसन्धानपछि भिडियोको वास्तविकता पत्ता लाग्ने र त्यसपछि कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी नायव उपरीक्षक रायले बताए।

उनले घटनाबारे अहिले वास्तविकता बुझिरहेको र अनुसन्धान भएपछि मात्र कसले र किन ती व्यक्तिलाई कुटेको हो भनी कुरा खुल्ने बताए।

सुधार केन्द्रमा भर्ती भएका किशोरलाई निर्मम तरिकाले कुटपिट गर्ने तथा चरम यातना दिने व्यक्तिहरूलाई कडा कार्यवाही गरिने उनको भनाइ छ ।