काठमान्डौं— आफ्नो ‘अनटेस्ट’ मोटरसाइकल छोएको निहुँमा खुकुरी प्रहारको घटना सार्वजनिक भएको छ । यही बैशाख १७ गते सिराहाको लहान नगरपालिका ३ दंग्राहा टोलमा ‘अनटेस्ट’ मोटरसाइकल छोएको विषयमा विवाद हुँदा खुकुरी प्रहारको भएको सिराहा प्रहरीले जानकारी दिएको छ ।
सोही ठाउँ बस्ने २७ वर्षीय देवकुमार महतोले आफ्नो नयाँ मोटरसाइकल छोएको भन्दै उनीमाथि खुकुरी प्रहार गरिएको सिराहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताए ।
डिएसपी पासवान भन्छन्, ‘किन आफ्नो मोटरसाइकल छोएको भन्दै मोटरसाइकल धनी मनिष महतोसहितका घरपरिवारले सुरुमा वादविवाद गरे, त्यो उग्ररुप लिन थालेपछि मनिषकी श्रीमती, भाइ र आमासहितकाले देवलाई लछारपछार गर्दै निर्घात कुटपिट गर्न थाले । यही बेला मोटरसाइकल धनी मनिषका भाइ मुकेश महतोले खुकुरी प्रहार गरे, जसबाट देव घाइते भएका हुन्।’
प्रहरीका अनुसार देवकुमार घाइते भई हाल प्रादेशिक अस्पताल सिराहामा उपचाररत छन्। उनको टाउको, घाँटी र ढाडमा चोट लागेका सिराहा प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले मनिषसहित उनका बुवा दिवस महतो र आमा सिता देवीलाई पक्राउ गरिसकेको जनाएको छ । खुकुरी प्रहार गर्ने मुकेश भने अहिलेसम्म फरार रहेको सिराहा प्रहरीले जनाएको छ ।