काठमाडौं – आवासीय चिकित्सकहरूको आन्दोलन आज २७औँ दिनमा प्रवेश गरेको छ। चैत २१ गतेदेखि सेवा बहिष्कार गर्दै सडक आन्दोलनमा उत्रिएका उनीहरूले आज पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्।
आन्दोलनरत चिकित्सकहरूले आफूहरूलाई आठौँ तह बराबरको निर्वाह भत्ता नदिइन्जेल आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। उनीहरूले निजी मेडिकल कलेजहरूमा आवासीय चिकित्सकमाथि भइरहेको अत्यधिक श्रम शोषण अन्त्य गर्न माग राख्दै, एक जनाले हप्तामा ७२ घण्टाभन्दा बढी काम गर्नु नपर्ने व्यवस्था गर्न, वर्षमा अनिवार्य २८ दिन बिदा दिनुपर्ने, किरिया तथा सुत्केरी बिदा आवश्यकतानुसार थपिनुपर्ने माग अघि सारेका छन्।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको चिकित्सा शिक्षा आयोगको १९औँ बैठकले निजी मेडिकल कलेजहरूले निर्णय लागू भएको मितिदेखि नै चिकित्सकलाई बढाइएको निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो। साथै, आवासीय चिकित्सकहरूले आन्दोलन फिर्ता लिनुपर्ने भनिए पनि उनीहरूले आन्दोलन जारी राखेका छन्।