स्पेनको प्रमुख विद्युत कम्पनी रेड इलेक्ट्रिकाले देशभर बिजुली आपूर्ति अचानक बन्द भएको जनाएको छ। अहिले उनीहरूले आपूर्ति पुनर्स्थापना गर्ने र ब्ल्याकआउटको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार, बिजुली कटौतीले पोर्चुगलमा पनि गम्भीर असर परेको छ। लिस्बन र पोर्टो शहरहरूमा ट्राफिक लाइटहरू बन्द छन्, मेट्रो सेवाहरू ठप्प छन् र रेलहरू सञ्चालनमा छैनन्।

यसका साथै, स्पेनमा भइरहेको म्याड्रिड ओपन टेनिस प्रतियोगिता समेत रोकिन पुगेको छ।
पोर्चुगिज एयरलाइन्स ट्याप एयरले अर्को सूचना नआएसम्म यात्रुहरूलाई विमानस्थल नजान अनुरोध गरेको छ।
ब्ल्याकआउटका कारण लाखौं मानिसहरू अन्धकारमा बस्न बाध्य भएका छन्। युरोन्यूज पोर्चुगलका अनुसार, राजधानीका धेरै मेट्रो रेलहरू सुरुङभित्रै रोकिएका छन्।
टेलिकम सेवासमेत प्रभावित बनेको छ। स्पेन र पोर्चुगलका नागरिकहरूले मोबाइल नेटवर्कसमेत नआएको गुनासो गरिरहेका छन्।