काठमाडौँ – ललितपुरको गोदावरी-४ स्थित विश्वास नेपाल रिहाव सेन्टरमा ४८ वर्षीय दावा घिसिङको रहस्यमय मृत्यु भएको छ। घिसिङलाई अत्यधिक मद्यपानको लत छुटाउन परिवारले तीन दिन अघि उक्त सुधार केन्द्रमा लगेर राखेका थिए। शनिबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल पुर्याइयो, तर चिकित्सकले उनलाई मृत घोषित गरे।

घिसिङको मृत्यु पछि उनका आफन्तहरूले बाँडेगाउँस्थित नमस्ते मेट्रो अस्पतालको अगाडि प्रदर्शन गरे। मृत्युको कारण भने अझै रहस्यमय रहेको छ। प्रहरीको अनुसार, घिसिङले शनिबार राति अचानक मुखबाट फिज निकालेर अस्पताल पुर्याइएको थियो, जहाँ उनले मृत्यु प्राप्त गरे।
घिसिङका परिवारका सदस्यहरूले सुधार केन्द्रका व्यवस्थापक र कर्मचारीमाथि संशय प्रकट गर्दै विरोध प्रदर्शन गरेका छन्। यस क्रममा केही समय झडपसमेत भएको थियो। प्रहरीले घटनाको गम्भीरतासँग अनुसन्धान थालेको छ र रिहाव सेन्टरका संचालक सुजन मर्हजन सहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुजन मर्हजन, भास्कर बुढाथोकी र अनुज नेपाल समावेश छन्। उनीहरूलाई प्रहरीले वृत सातदोबाटोमा राखेर थप अनुसन्धान सुरु गरेको छ।
घिसिङको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ र घटनाको अनुसन्धान जारी छ।