काठमाडौं—  निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू वैशाख ११ गतेदेखि देशभरका स्वास्थ्य संस्था ठप्प पारेर आन्दोलनमा उत्रिने भएका छन्।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल चिकित्सक संघले यस्तो चेतावनी दिएको हो। पत्रकार सम्मेलनमा डा. तेजसु मल्लले वैशाख ११ गते देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने बताए। उनले काठमाडौं उपत्यकामा रहेका निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूले माइतीघर मण्डलामा जम्मा भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेर्ने बताए।

OM Sai Pathibhara Hospital

उनले २८ दिनदेखि जारी चिकित्सकको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र उदासीन भएको आरोप लगाए। उनले निजी स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण चिकित्सकहरूलाई आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिन आग्रह गरे। निजी मेडिकल सञ्चालकले मानसिक दबाव दिएर आत्मसम्मानमाथि गम्भीर प्रहार गरेको उनको भनाइ छ।

उनले आन्दोलन व्यक्तिगत स्वार्थका लागि नभई सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि भएको बताए।

मल्लले भने, ‘हालसम्म सरकारद्वारा कुनै पनि पहल कदमी नहुनु दुःखद छ। यस संस्थाका पदाधिकारी र संस्थालाई तुच्छ शब्द प्रयोग गरी कपोकल्पित आरोप लगाई भ्रम छेड्ने काम गर्ने एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजका पदाधिकारीहरूको कार्यको घोर भर्त्सना गर्दछौँ। साथै आरोप पुष्टि गर्न पनि खुला चुनौती दिन चाहन्छौँ। साथै निजी मेडिकल कलेजमा काम गर्ने सम्पूर्ण चिकित्सकहरूलाई आफ्नो आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण काम छोडी संघर्षमा आउन आह्वान गर्दछौँ। मिति २०८२ वैशाख ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यकाभित्रका सम्पूर्ण चिकित्सकलाई माइतीघरमा जम्मा भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौँ।’

संघले आन्दोलन गर्नु बाध्यता भएको बताएको छ। सर्वसाधारणमा पर्न गएको असुविधाप्रति संघले माफी माग्दै यसको सम्पूर्ण जिम्मेवार सरकार हुने जनाएको छ।