काठमाडौं— लगातारको वर्षाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डको सडक हिलाम्मे हुँदा यातायात प्रभावित भएको छ । बिहीबारको वर्षाले सडक चिप्लो भएपछि उकालोमा मालबाहक गाडी फस्ने र चिप्लिने घटनाले सवारी जाम बढेको हो । शुक्रबार बिहानको वर्षाले स्थिति अझ जटिल बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर, पैसठ्ठी मोड र घ्यूखोला आसपास हिलोका कारण सवारी आवागमन कठिन बनेकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । यद्यपि, एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

सडक निर्माण अन्तर्गत हाल दाउन्ने खण्डमा वाल लगाउने, भित्तो काट्ने र कल्भर्ट निर्माणको काम भइरहेको छ। निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले २०७५ सालमा काम थालेर ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेपनि पटक पटक म्याद थप्दै आएको छ । हालसम्म पूर्वी खण्डको ६३ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ ।
सडकको स्थलगत अनुगमनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल समेत करिब ३ घण्टा दाउन्नेको जाममा परेका थिए । मन्त्रीले वर्षाका बेला सडक विस्तार रोकेर आवागमन सहज बनाउने निर्देशन दिएका छन् ।
स्थानीयहरूले निर्माण कार्य अघि बढिरहे पनि अझै धेरै ठाउँमा पुल र सडक सतह जोडिन बाँकी रहेको बताएका छन् । दुम्किबासस्थित विनयीखोलाको डाइभर्सनबाट अहिले आवागमन भइरहेको छ भने वर्षा अगावै प्रमुख पुलहरू निर्माण सक्ने प्रयास भइरहेको सडक आयोजना कार्यालयले जनाएको छ ।