काठमाडौं— जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलिसम्म नै देशका विभिन्न भू—भागहरूमा पानीसहित चट्याङ पर्ने जनाएको छ। मौसमविद् बिनु महर्जनले भोलि कोशी र बागमती प्रदेशका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको जानकारी दिइन्।
उनका अनुसार सोही दिन मधेश,गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना देखिएको छ। यी स्थानहरूमा हावाहुरीसहित चट्याङ पर्ने देखिएकाले सतर्क रहन उनले आग्रह गरिन्।

भोलिसम्म नै पानी पर्ने देखिएकाले ती स्थानमा मुसुरो, गहुँ लगायतका बाली अहिले नकाट्न महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जसकारण यतिखेर काठमाडौं उपत्यकामा चट्याङसहित पानी परिरहेको छ।